टाँगेर झ्यालमा
झ्यालभन्दा पारदर्शी पर्दाहरू
समय,
यसबेला नयाँ सडकको
रिवल्भिङ रेस्टुरेन्टबाट चियाइरहेछ ।
हिजै जस्तो लाग्छ
त्यो टिनएजर समय
जिस्काइरहेथ्यो चिया पसलबाहिर उभिएर
गुन्यूँ चोलीमा पोखिएका घामका झुल्काहरूलाई ।
हरेक मातपछि पनि
सर्वाधिक प्रिय थियो नयाँसडक
जसलाई टेकेर
उसँगै उभिन्थे उसका सङ्गीतबद्ध कविताहरू ।
सडकभरि तिनै कविताहरू सुताएर
आजभोलि
निला बत्तीको जालोमा झुम्मिने गर्छ नयाँ सडक ।
जुन जालोमा प्रत्येक साँझ
इतिहासकै नवीनतम हाट लाग्ने गर्छ
र
ढलेका स्मारकजस्ता अहमहरू
रङ्गीन पानी पिएर
नयाँ नयाँ योजनाका विद्रूप अवतारलाई हुर्काउने गर्छन् ।
जिन्दगीको दौड छ नयाँसडकमा
भन्ने सुनेर
निस्केको हो ऊ,
सुदुर सपनाको खोजीमा घरबाट १
अरनिको राजमार्ग हुँदै
ओर्लिआएको बसको टिकट
पुरानो बसपार्कको फुटपाथतिरै मिल्काएर
रत्नपार्कको कोरिडोरबाट
केहीबेरमै छिचोलेको हो उसले
शताब्दीजत्रै पर्खाइपछिको
यो गन्तव्य ।
आँखामा
निलो ग्रहजस्तो
कुनै विशाल तिर्खा पिएको ऊ
त्यही फास्ट ट्रयाकको
वैजनी रङसँग मिसिएर
बलिरहेछ अहिले धपधप
आफ्नै रिवल्भिङ सपना जसरी ।
त्यहीँ खुलामञ्च पछाडि फालेको छ उसले
प्रथम श्रेणीमा पास भएको
एसएलसीको प्रमाणपत्र,
रोपाईंको हिलो बोकेको एकजोर चाइनिज जुत्ता
र,
पोहोरको दशैँमा सिलाएको
टेरिकटनको कमिज र पाइजामा ।
अनभिज्ञ छ ऊ
यो निलो बत्तीको भयानकतासँग,
जसका मुनि
चिरा परेका दुर्व्यसनी आँखाहरू
पर्खिरहेछन् गुँडुल्किएर
काँचुली फेर्न नसकेको बुढो अजिगरझैँ
नयाँ नयाँ सिकारमाथि झम्टा हान्न १
निख्रिएपछि रातको जवानी
अकस्मात् निभ्छन्—
नीलमणिजस्ता जादुगर आँखाहरू
निभ्छन् निला आवेगहरू
बेहोशीमा नयाँसडक
चिसो एउटा वाग्मती बगेर
प्रत्येक गाडीको हर्नमा
निलो मृत्युको कथा सुनाइरहन्छ
र, प्रत्येक घुमाउरा गल्लीहरूबाट
उज्यालोको अन्त्येष्टिमा सरिक हुन्छ ।
यसरी नै चियाउँछ समय, दरबारमार्गमा
पिजाहटको नवीनतम स्वाद
र केएफसी चिकेनको क्रन्ची समय चपाउँदै
सुनाइरहन्छ यसरी नै
स्ट्रिट फेस्टिभल र पावरबोटको कथा ।
कसैलाई झस्काउने छैन
सामुन्ने उभिएको उदास नारायणहिटीको निस्तब्धताले
र मौनताको यो अविराम शून्यताबीच पनि
समयको अन्तिम संवाद सुन्न
एकरत्ति फुर्सद हुनेछैन कसैलाई ।
समय,
अझै पनि नयाँ सडकको
रिवल्भिङ रेस्टुरेन्टबाट चियाइरहेछ ।
०००