एउटा रातो बेला
म राँकिकएर राँको बनेको बेला !
म अँगारमा डढेर शृङ्गार बनेको बेला !
मैले मेरो जीवनको सबभन्दा जीवन्त प्राण
बाँचेको बेला
मैले मेरो कुलदेवताको धुरीमा मालिङ्गो गाडेको
आँखामा उम्रेको लेकाली चोखो धारा
चिन्डाभरि थापेर चढाएको
कालो जादुमा अल्झेको आफ्नो सातो बचाएको
मर्दिन म भनेर कसम खाएको
म जित्छु नै भनेर महाकाललाई भाकल राखेको बेला !
म राँक्किएर रातो बनेको बेला
कुरुक्षेत्रमा राँकेभूतहरूको महामिलनको बेला
रङ विरङ आगोहरूको औतार
धुपौराहरूको नाच
वेदीहरूको नाच ज्वालाहरूको नाच
आँखाका राता कुन्डबाट खस्तै जाने छन्दहरूको नाच
झनझन तरुण हुँदै गरेको अग्निस्नानको समारोहमा
तपसीपुत्र योगीपुत्रहरूको झर्रा औतारी नाच
भाषाको पनि अन्तिम कैफियत छ,
हटाऊ यो मसान मसान गह्नाउने चिसा हुस्से र कुइराहरू
मैले रीस पाल्न र जोगाउन कहाँ जानेको हूँ र !
पापहरू बढ्दा पापनाशक भैरव
अपराधहरू बढ्दा अपराधविरोधी वीरभद्र
अन्यायहरू बढ्दा अन्यायरोधी ताण्डव
रीसलाई रगतमा उमालेर
प्रतिरोधको हतियार बनाउने कला त मैले नै जानेको हूँ
सरापको आँसु पनि नाश गर्ने
कुर्कुच्चाले टेकेर भुईँबाट पानी उमार्ने
थालले हिर्काउदा थानको ढुङ्गा
दुई चिरा पार्ने<ref>तङसिङ तक्मा मुन्धुम, बैरागी काँइला</ref>
रुद्रको छातीमा टेकेर रौद्र ताण्डव मच्चाउने
रक्तवीजको खप्पर ओढेर पृथ्वीको धुरी फनफनी घुमाउने
रीसलाई मथेर विजयको कुन्दन बनाउने साधना त मैले नै जानेको हूँ
यो शिवसमय, मेरो रूद्रीबेला ! चण्डीबेला !
मेरो आफ्नो बेला
म अँगारमा डढेर शृङ्गार बनेको बेला !
............................................................................
रचनाकाल १३.१०. २०१९