Last modified on 17 जुलाई 2024, at 20:44

र बिर्सियौ तिमीले / सुमन पोखरेल

मलाई बेचैन गरायौ, र बिर्सियौ तिमीले
पलपल सम्झिने बनायौ, र बिर्सियौ तिमीले
 
माया गरे त भैगो, बाचा चाहिन्न भन्थेँ
कसम अनेक ‍खायौ, र बिर्सियौ तिमीले
 
बेहाल छु म अझै, त्यही कुराको असरले
खुसुक्क जे सुनायौ, र बिर्सियौ तिमीले
 
मैले भुलेको छुइनँ, पर्खिबस्याछु अझै
भेटन मलाई बोलायौ, र बिर्सियौ तिमीले
 
जोगी थिएँ या पागल, जे थिएँ म बेसै थेँ
प्रेम गर्न सिकायौ, र बिर्सियौ तिमीले
 
भित्ताको तस्बिरजस्तै टोलाइरहेथेँ एक्लै
एकछिन प्रेमले चलायौ, र बिर्सियौ तिमीले
 
तिमी खै कता हिँड्यौ, यहाँ म जल्न थालेँ
चुमेर आगो सल्कायौ, र बिर्सियौ तिमीले
 
केही नबुझ्ने थिएँ, हावाझैँ उडिहिँड्थेँ
मायाको भाषा पढायौ, र बिर्सियौ तिमीले

बाँचूँ म कसो गरी, मुटु लिएर गयौ
खै कहाँ लुकायौ, र बिर्सियौ तिमीले
 
फूल थिएँ कि क्या हो, ओइली झरेँ कि आफैँ
केहीबेर मनपरायौ, र बिर्सियौ तिमीले
 
आशा देखाई गयौ, फर्केर आउँछु भनी
दुईचार सपना पठायौ, र बिर्सियौ तिमीले
 
चल्ने ठाउँ भएन, धड्कि्न गार्होै भयो
मुटु मेरो समायौ, र बिर्सियौ तिमीले
 
म त सधैँ उस्तै थेँ, उस्तै थ्यो मेरो माया
मलाई सपथ गरायौ, र बिर्सियौ तिमीले
 
टोलाई बस्थे आँखा, जीवन के होला भनी
प्रीतीको अर्थ बुझायौ, र बिर्सियौ तिमीले
 
हजार कसम खाई गएथ्यौ रुँदै तिमी
नजर कता जुदायौ, र बिर्सियौ तिमीले ?
 
सम्झेर रातरातभर सुत्न सकिन भन्थ्यौ
कुन छातीमा निदायौ, र बिर्सियौ तिमीले ?
 
बाटो र ऐना हेर्दै, उमेर बितेर गयो
बाँचुन्जेल पर्खायौ, र बिर्सियौ तिमीले
 
कसले सुनाइदेला, मेरो खबर सुमन !
'चिता मेरो जलायौ, र बिर्सियौ तिमीले'