Last modified on 12 मई 2017, at 11:08

लावारिस कालो हात / चन्द्र घिमिरे

झिसमिसै
फोहोरमा भेटिएको
बेवारिस कालो ‘हात’को हल्ला
धारा खोल्दा धरर्र चुहियो पानीको साटो !

त्यो हातनेर अड्क्यो
हनुमान मन्दिर जाँदै गरेको सदानन्द,
उसले रमिते वाक्–अधिकार आजमायो,
“मन्दिरमा सुत्ने भिखारी विरेनको होला !
ठेकेदार अव्दुल मियाँको शङ्काले प्रतिवाद गर्दियो
“कोइला–मजदूरको होला !”
दूध किनेर फर्केकी मौसीले मानिन,
“पक्कै तरकारी किसान ललन जोगीको हो !”
डुलुवा चुरीवाल मँगलुले बाजी लायो,
“लेख्न नडराउने कविको हो !”
गोलो सेलरोटी बन्यो
हेर्ने आँखाहरूका घेरा र अस्थाई डेरा ।

अर्को बिहान
खिड्की उघार्दै तडकारै
सेफ जस्ता अखबारहरूले पस्के
ठूल्ठूला सन्देश समवेदनाको
बद्नाम कुलिन अनुहारको ।

सरकार बनाउने मतदाता त्यो हात !
कठै समाचारै नबनि मारियो
सायद, थिएन कि !
कुनै दलको कार्यकर्ता
जल्ले शहरमा बन्द वा दङ्गा गर्दियोस् ।