एकदिन
लीसाले सोधेकी थिई-
बुबा ठूला हुन् कि आमा ?
अनुहारको भावै नपढी
मैले निश्चिन्त भनिदिएथेँ- दुवैजना ।
मेरो यही भनाइमा
उसको विश्वास अडेको थियो-
परेवाका एक जोडी भएर
एकदिन,
उसलाई भेट्न आउनेछन् - दुवैजना !
जिन्दगी घामछाया हो,
मैले उसलाई पढाएँ ।
गर्मीको एकदिन
शीतल छाया पर्खिरहेकी लीसा,
मरुभूमिको उष्णताले निसास्सिई
मात्र घाम लिएर आएको उसको बाबुसँग
शीतल छाया थिएन ।
हिउँदको अर्कोदिन
न्यानो घाम पर्खिरहेकी लीसा,
तुषारोले कठ्याङ्ग्रीई
मात्र छाया लिएर आएकी उसकी आमासँग
न्यानो घाम थिएन ।
सही उत्तर नपाएकी ऊ
अझै पनि मलाई
प्रश्नसूचक आँखाले हेर्छे,
मलाई डर लाग्छ,
कतै ऊ
ममाथि पनि शङ्का नगरोस्,
किनकी,
म लीसाको गुरूआमा हुँ ।
०००
इस कविता का हिंदी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करें