आजकल म
हरेक साँझ बिहान
समयको बार्दलीमा उक्लिरहन्छु !
कहिले सूर्योदयको सुख हेरिबस्छु
कहिले सूर्यास्तको दुःख हेरिबस्छु !
फूलहरूको निर्बन्ध हाँसो
र चराहरूको उन्मुक्त उडान हेरिबस्छु !
यो आकाश पीडाको अनन्त क्यानभास हो
यो धर्ती अस्तित्वको विशाल रङ्गमञ्च हो !
कहिले मौनताको गीत सुनिबस्छु
कहिले अस्पष्ट छायाँहरूको लश्कर हेरिबस्छु !
म आजकल
आगोको मृत्यु
र खरानीको जन्मबारे सोचिबस्छु !
बितिरहेको काल र अस्थिर मनोदशाको झ्यालबाट
वर्षायाममा झरेका पातहरू हेरिबस्छु !
आजकल यो पृथ्वीमा
म एउटै कुरा सोचिबस्छु -
हामी कस्तो मौसम र कुन याममा झर्छौं होला
हाम्रो जीवन कस्तो लय र प्रलयमा झर्छ होला ?
०००