Last modified on 13 अक्टूबर 2020, at 11:20

वसन्त / धर्मराज थापा


सुन हे साथी ! छप्परभित्र कोइली बोलेकी
वसन्त ऋतु पाएछ क्यारे हृदय खोलेकी
देखिन्छ नौलो वनको दृश्य धपक्क फुलेको
सुनिन्छ नौला मधुरो ध्वनी हृदय खुलेको
यतिका दिन छिपेर बसी कुन् फूल पातमा ?
आज त्यो, बोली संगीत घोली जुनेली रातमा
मान्दछे मलाई भन्दछे 'को हो !' मोहनी फिजारी
यो वसन्तमा खेलौं न राजा मनको जुहारी'
शब्दले 'को हो' नचिनेजस्तो गर्दछ मलाई
भावना खेल्ने त्यो हृदयीले चिन्दछ मलाई
धमिलो पर्दा च्यातेर हेर्छे उज्यालो छप्परमा
सुनौला सारी त्यो फूलबारी रेशमे चहुरमा
रातकी रानी कोइली नानी झिक्तछे तरङ्ग
त्यो बोली सुनी मनमा गुनी मन हुन्छ भरङ्ग
पिउंछे मस्ती हेर्दछे मस्ती हाँगाको कोइली
लगाई टक टाँगेको झूल वसन्त जुनेली
रातको मांखा खुलेछ साथी ! लागेछ वसन्त
यो वनभित्र म पनि डाक्छु भावना अनन्त ।