Last modified on 21 मई 2017, at 13:48

वसन्त / लक्ष्मीप्रसाद देवकोटा


क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल !
मौरी गुनगुन खग चञ्चल !
स्नायु चपल औ मुटु खलबल !

पहिला बत्ती यसरी बलेथे सृष्टिको आदि मिरमिरमा,
प्रथम लहरको फिरफिरमा !

शिवले पट्टल खोल्ने काल !
गौरी लाली लिन्छ हिमाल !

उर्वशीको प्रथम झलकमा विक्रमको झैं मुटु डल्लो,
घाउ बनीकन सूर्य अडेको, टक्क छ,
हेरन,
अस्ताचलको चुली उपल्लो !

मुनिकी आत्मा पुतली नाच्छे, मुक्त बनी, स्वर्ग भनी,
यो अवनी !
अमृत–धनी !

कुरकुर लाग्दछ ढुक्कुरलाई,
बोल्दछ सार,
संसार सबैको केशर–प्यार !

हामीहरु सब आलुबखडाहरुको लच्के हाँगाहरुको
सेता ढोकाभित्र पस्यौं
बोल्दा मुनाका कथा जगतेमा
परीहरुसँग साथ बस्यौं ।

सुगन्ध–कणी क्या बोकिरहेछन्
लहर–लहर !
दिलको कोभी फुकी–फुकी आउँछ,
छरबर पार्न
बास्ना–भुँवर !