Last modified on 27 जुलाई 2017, at 15:53

वसन्त / हरिभक्त कटुवाल


मलाई गिज्याउन प्रति वर्ष
आउँछ वसन्त तगारोसम्म
आरुबखडाको झाङसम्म ।

पर फाँटमा -
फलेको रातै हाँसेको छ,
द्यौरालीको बूढो पिपलले
हाँगा-हाँगामा नयाँ पालुवा टाँसेको छ ;
यसरी-
आउँछ वसन्त फाँटसम्म
धाउँछ वसन्त द्यौरालीसम्म ।

उसको स्वागतमा पसारेका मेरा दुई हातको
हर्हर बलेको तृष्णा एउटा आँतको
वास्तै नगरी फर्किन्छ वसन्त
छुँदै नछोई मलाई
हेर्दै नहेरी मलाई
फेर्दै नफेरी मलाई ।