Last modified on 6 दिसम्बर 2016, at 14:44

विधिलाई विडम्बना नमान्दा / सन्तोष थेबे

यहाँ
एउटा मान्छे
प्रत्येक बिहान घाम उदाउँदा
रातभरिको चीसो चरक्क चर्किन्छ

प्रत्येक साँझ घाम अस्ताउँदा
दिनभरिको तातोले प्याट्ट फुट्छ
किस्तामा
टुक्रामा
यहाँ यसरी एउटा मान्छे बाँच्ने गर्छ
यहा यसरी एउटा मान्छे सकिने गर्छ

सधैँ
एकैचोटिमात्र
ग्वाम्मै खाने बानी भएकाहरु
सिङ्गै सल्किन पल्केकाहरु
यहाँ अलिकति बुझ्दैनन्
यहाँ सुस्तरी जान्दैनन्
अर्थात
किस्ता जान्दैनन्
टुक्रा बुझ्दैनन्
‘स्लो प्वाइजन’ त तिनीहरु मान्दै मान्दैनन्
तर
यहाँ यसरी नै एउटा मान्छे बाँच्ने गर्छ
यहाँ यसरी नै एउटा मान्छे सकिने गर्छ

शायद नपत्याइएला
अलिकति जिन्दगी खोज्दा
नबिकेको मान्छे
अलिकति हक खोज्दा
लत्याइएको मान्छे
अलिकति हाँसो खोज्दा
आँसुमात्र लिएर फर्कने मान्छे
आजकल
घरको बलेँसीजस्तै उप्कन थालेको छ
स्वास्नीको चोलोजस्तै उध्रन थालेको छ
छोरोको गल्फुडोँजस्तै दुख्न थालेको छ
बिचरा भन्नु पो हुदैन
दालमा टुक्रिन्छ
भातमा टुक्रिन्छ
नुन तेल सलाईसम्ममा चिप्लिन्छ
फुट्दा-फुट्दा
चर्किँदा-चर्किँदा
यो धुलोपिठो हुने भूमिकामा
अब त अलिकति साँचेर राखेको ढुकढुकी पनि पुरा बन्धकीमा छ

यहाँ यसरी एउटा मान्छे बाँच्ने गर्छ
यहाँ यसरी एउटा मान्छ सकिने गर्छ
तर उसले कहिल्यै पनि विधीलाई बिडम्बना मानेन
श्मसानघाटको सन्नाटालाई
आँखाको गहिरो इनारबाट
जीवनको छिन्द्रा परेको अम्खोराले पिइरह्यो
तिर्खा नमेटुन्जेल घटघट पिइरह्यो
कहिल्यै थाहा भएन
यसरी तृष्णाको डढेलोले समुंद्रको पानी भकभक उमालेको !
समुंद्रमाथि आगो लागेको !