Last modified on 25 अगस्त 2024, at 20:08

विरोधाभास / गीता त्रिपाठी

 
देखिँदो छ,
छेलिँदो पनि छ
रूपभित्रका अनेक अरूपहरू...

प्रश्न उठिरहन्छ
यति धेरै अनुहारमा
कसरी मिसाउँछ मान्छेले आफूलाई

चलनचल्तिको, चाहेजस्तै बनाइदिनसक्ने
कस्तो होला त्यो योजनाकार ?
कुन विनिर्माण होला अस्तित्वको,
अनुहार फेरिदिने त्यो मुनाफाको कारखाना ?

ठोक्किरहन्छन्-
अदृश्य र दृश्यका बीच
अविदित र विदितका बीच
निर्माण र प्रतिनिर्माणका बीच
अरूपभित्रका अनेक स्वरूपहरू...

क्रमश बन्दै, भत्किँदै गइरहेछ
भ्रमका क्रमिकताहरूमा तथागतको एउटा अनुहार ।