Last modified on 25 अगस्त 2024, at 17:00

विरोधाभास / सुमन पोखरेल

शताब्दीऔँदेखि व्याकुल छ बुद्धत्व ।

कुन टुक्रालाई उठाएर ढोग्ने हो?
कुन चोइटालाई टिपेर चुम्ने हो?
कुन अस्तित्वलाई छात्तीमा टाँस्ने हो ?

मान्छे भनाउँदो सृष्टिको एक मात्र खलनायक
बेचेर खाँदैछ सयौँ कालदेखि
बुद्धको टाउकाको भौतिक प्रतिरूपलाई ।

जीवनको घाउले छट्पटाइरहेका
जीर्णशीर्ण, क्षतविक्षत, तप्त-विक्षिप्त प्राणीलाई
शान्तिमय जीवनहरू बँचाउन
व्याकुल छ बुद्धत्व ।

उद्दत छ मान्छे तर सधैँ
बुद्धत्वलाई थुनेर कतै
बुद्धको टाउकाको व्यापार गर्न ।