1,851 bytes added,
02:58, 2 जुलाई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
यो शरद्को आभास
उस्तै छ आमा !
तिमी छैनौ र मात्र
केही छैन यो बतासमा !
पहिलोपटक
यति बिरानो छु आफैसित
आफ्नै आँखाबाट हराएका
सपनाहरू खोज्न तल्लीन म
बारबार धुवाँको बस्ती
वाग्मतीको किनारतिर दौडिरहन्छु
तिमीविना पनि चलिरहेछ हावा
बगिरहेछ पानी
सपना टिप्न कुदिरहेछ आकाश !
तिमीविना पनि
उस्तै छ उफ्रिरहेको यो ढुकढुकी
कसैले नदेख्ने मभित्रको महाशून्यमा
तर
कतै छैन तिमी हुँदाको जीवन !
तिमीविनाको
यो पहिलो शरद्
ढोकाबाहिरै उभिएको छ
ऊ माग्न सक्दैन प्रवेशाज्ञा
सक्दैन हेर्न शिर उठाएर
मेरो उजाड अनुहारमा
र, म बन्द छु
ढोकाविनाको तिम्रो अविराम स्मृतिमा !
शरद् !
तिमी परै बस्नु
तिमीलाई दिने कुनै रङ छैन यसपालि मसँग !!
</poem>