तिमी फन्फन् राम्रो लाग्छौ
तिमीलाई झन्झन् मन पराउँछु ।
सोच्छु,
तिमी पति भएको भए
तिम्रो सम्झना
के यति नै सुखद हुने थियो ?
पाएका कुरा आफ्ना हुन्छन्,
नपाएका कुरा जहिले पनि श्रेष्ठ लाग्छन्
हैन त ?
तिमी मेरो कल्पना
आफूमा हुर्काउँछु तिमीलाई
कताकता तिम्रो रोक्ने बाटो छ ।
कताकता मेरो फर्कने निहुँ छ ।
तिमीले र मैले
जीवनको संयुक्त खाता खोलेका रहेछौं
मेरो अंश तिमीकहाँ छाडेर
कतै जान सक्दिनँ- बाँच्न सक्दिनँ ।
सन्तान पाएपछि
मेरो माया बाँडिन्छ
काम गर्दा, यसलाई हुर्काउँदा
त्यो तिम्रो सन्तान हैन, मेरो मानिन्छ ।
तिमी कताकता टुहुरो हुन्छौ
कताकता सधैं निहुँ खोज्छौ