6,321 bytes added,
9 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार= मोमिला
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
जिन्दगीबाटै प्रारम्भ हुन्छ
मृत्युको कथा !
मृत्युको कथा भनिरहँदा अचानक
जीवनको दुर्घटनाग्रस्त एउटा जहाज
मेरो मनको किनारमा आएर रोकिन्छ
र खैरो उदासीमा भग्नावशेषबाट प्रारम्भ हुन्छ
अर्को मृत्युको कथा !
कथामा—
कुनै सुदूर मुलुकबाट बगेर आएको एक्लो ताराजस्तो
महाप्रलयपछिको सुनसान खण्डहरमा
आफ्नी प्रियाको तस्बिर छातीका टाँचा मारेर
कतै देख्यौ कि भनी
मौनतालाई आँसुको भाषामा सोधी हिँड्ने
त्यो एक्लो मान्छे
हरपल जीवन विरुद्ध बजेको
मृत्युको सङ्गीत सुनिरहन्छ
जिन्दगीकै भूमिका बाँधेर
ऊ मृत्युको कविता लेख्छ
जीवनका सारा रङ्गहरू घोलेर
सपनामा पनि
ऊ मृत्युकै चित्रकारिता भरिरहन्छ ।
उसलाई प्रिय लाग्नु छ एकान्तमा—
आकाशमा धूवाँजस्तै बिलाउने जिन्दगी !
धर्तीमा माटोजस्तै बिलाउने जिन्दगी !!
सागरमा पानीजस्तै बिलाउने जिन्दगी !!!
यतिखेर,
एक्लो एकान्तीय उसलाई
भीडको एकान्तबाट म सम्झिरहेछु—
आहहरूको एउटा सुन्दर पेन्टिङ्जस्तो जिन्दगी !
उफ्हरूको एउटा सुन्दर धुनजस्तो जिन्दगी !!
व्यथाहरूको एउटा सुन्दर काव्यजस्तो जिन्दगी !!!
तर, मेरो चेतनामा वास बस्न आएका
उसको त्यो दर्दभरि हृदयको आर्किटेक्चर
सायद, म शब्दमा क्लिक गर्न सक्दिनँ !
उसका पीडाहरूको गहन सौन्दर्य
सायद, म कुनै भाषामा फ्रेमिङ्ग गर्न सक्दिनँ !!
अवश्य तिमी पनि महसुस गरिरहेछौ—
उसको अनि मेरो हृदयमा उर्लिरहेको सुनामी,
सुनामीसँग हेलिँदै सिङगो बस्ती नै बग्दै गरेको
जीवनको त्राहिमाम परिदृश्य,
तिनै दृश्यहरूको जङ्गलबाट उठेको
त्रासद चित्कार र
मृत्युको प्राचीन पागल गन्ध !
मृत्युको कथामा जिन्दगीको भूमिका पढिरहँदा
कतै फूलहरू भने सीमान्त सौन्दर्यमा फक्रँदै थिए…….
जतिखेर मभित्र सम्बोधिमा जीवन रेखाङकित हुँदै गए—
उसको अन्धकार रातपछि बिहानी जगाउने सूर्य
र मेरो रातको कृत्रिम उज्यालो भ्रम तोडेर
मभित्र अन्तर उज्यालो जगाउने सूर्य उही रहेछ;
एकान्तमा बाफिएर आहत मन आँसु बनेर झरेपछि
उसको सङ्लो आँखामा उदाउने चन्द्र
र भीडमा बाफिएर निसास्सिएको मन आँसु बनेर झरेपछि
मेरो सङ्लो आँखामा उदाउने चन्द्र एउटै रहेछ;
एकान्तमा झरे पनि या भीडमा झरे पनि
झरेको हाम्रो आँसुको रङ्ग पनि विल्कुल उस्तै रहेछ !
यसैले उदाउँदो चन्द्र, सूर्य र ताराहरूसँगै
फुल्दै गरेको फूलको सौन्दर्य हेरेर एकान्तमा मुस्कुराउने ऊ
या उसको मुस्कुराहटमा टाढाबाट साथ दिने दर्शक तिमी !
मभन्दा टाढा एक्लै नहाँस्नू
एक्लै हाँस्दा
हाँसोको लहर मसम्म आइपुग्दैन;
बादलसँगै एकान्तमा बर्सिने ऊ
या टाढा बसेर एकसाथ बर्सने दर्शक तिमी !
मभन्दा टाढा एक्लै नरुनू
एक्लै रुँदा
आँसुको बाछिटा मसम्म आइपुग्दैन ।
बुझ्यौ ! यतिखेर ऊ
जीवन गुनगुनाउँदै आफ्नी प्रियाको नाममा
आकाशजस्तै, सागरजस्तै नीलो गुलाफ रोपिरहेछ …….!!!
०००
<small>(सुनामीमा सारा आफन्त गुमाएका जापानीहरूलाई)</small>
</poem>