3,029 bytes added,
11 जनवरी {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सबै बगाएर लैजाने अभीष्टका साथ
सबै तानेर आफूमै मिसाउने जाँगरका साथ
उर्लिएर बडो जोशले अघि बढछ
समुद्रको छाल ।
पूरै डुबेर हराउने उमङ्गका साथ
पूरै भिजेर एकाकार हुने अभिलाषाका साथ
ब्यग्रताले प्रतीक्षा गरिरहन्छ
समुद्रको किनार ।
किनारसँग ठोक्किएर छताछुल्ल भई
उसैमा समाहित भएर
आफू विलिन हुने भए पनि
किनारको मौनतासँग आकर्षित भई
निरन्तर धाइरहने मोह नत्याग्नु
किनारलाई छोइरहने इच्छा नछोड्नु
पक्कै पनि किनारसँगको
सनातन प्रेम नै हुनुपर्छ छालको ।
आफैंलाई मासेर किनार मै विलिन हुने
छालको लगातारको कोशिस देख्दा
यस्तो लाग्छ,
कसैलाई चाहनुमा यत्तिको उन्माद भएन भने
केवल चाहनु मात्रको के अर्थ !
उच्छाल्लिएर ठोक्किएपछि किनारसँग
यसरी शान्त हुन्छ, समुद्रको छाल
मानौँ,
हार मानेको छ उसले किनारसँग
नतमस्तक भएको छ ऊ किनार सामु
या
चुमेर किनारलाई, तृप्त भएको छ
मिसिएर किनारसँग, संतृप्त भएको छ ।
नीलो देखिने समुद्रको छालले
पटक पटक बालुवामा मिसिएर
आफ्नो अस्तित्व हराएको देख्दा
यस्तो लाग्छ
साँच्चै नै मनपराएको हुनुपर्छ किनारलाई उसले
साँच्चै नै माया बसेको हुनुपर्छ किनारसँग उसको ।
मायामा बाहेक
यस्तो लगन, यस्तो धून, यो सपर्पण
र
आफ्नै अस्तित्व मेटाउने यो बौलाहापन
अरू केहीमा हुन सक्दैन ।
००००