सपनाको खोजी / जीवनाथ धमला

नीलो आकाशमुनि चिसो हुरी बहँदै थियो
आँगनमा/धुरीमा र फूलहरूमा,
घाम डुबिसकेपछि बाँकी रहेको अलिकति उज्यालो आकाश देखेर
त्यही उज्यालो छुन उड्दै थिए केही पक्षीहरू,
मलाई लाग्यो—
“डुब्न आँटेको उज्यालो छुन पुग्छन्/पुग्दैनन् तिनीहरू ।
उनीहरूको अभिलाषा साकार बनिदिए हुन्थ्यो”
म हेरिरहेँ, उनीहरू उडिरहे,
यत्तिकैमा उज्यालो निख्रिसकेको थियो,
मैले देख्न छाडेँ, खै कहाँसम्म पुगे उनीहरू ।
त्यसबेला अचानक सोच्न पुगेछु—
“अब धरतीमा कहिल्यै सूर्यो दय हुँदैन कि ।”
अब म,
न आफ्नै छेउका फूलहरू देख्न सक्थेँ,
न त माथिका सेता डाँडाहरू नै,
म पूर्णतया सृष्टिविपरीत सन्नाटाको केन्द्रबिन्दुमा
एक्लोकैदी भएर
अघि उडेका पक्षीहरूलाई सम्झिरहेँ,
 अहिले सर्वथा मृत शान्ति थियो,
 ध्वनि/प्रतिध्वनि कतै केही थिएन,
गोलार्धबाट सूर्य विस्थापित भएपछि
सर्वत्र निषेधसूचक अँध्यारो पोखिएको थियो,
मान्छेहरू निदाइसकेका थिए, र
निदाएका मान्छेहरूले सपना देख्न पनि निषेध थियो,
केही सुनिँदैनथ्यो त्यसबेला,
तर, म अनुभव गर्नसक्थेँ,
सानो छँदा सुनेको थिएँ—
“अँध्यारोमा भूतहरूले तर्साउँछन्”
 
मैले छेवैका फूलहरू रोएको अनुभव गरेँ, अहिले,
 लाग्यो, अँध्यारोमा निस्कने भूतले फूलहरूलाई कुल्चेछ
र, तिनै फूलहरू रोइरहेछन्,
अहिले, फेरि सम्झेँ तिनै पक्षीहरू
कतै, तिनीहरूलाई पनि फूलहरूलाई जस्तै… ।
म कतै बढ्न सकिनँ, जहाँ थिएँ त्यहीँ रहेँ,
सतहमा आकार थिएन, निराकार थियो,
एक दिनको घटना हो यो,
त्यसै निराकारभित्र म मेरो सपना खोज्दै थिएँ।

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.