क्रमशः
क्रमशः एक हुल मान्छेहरू आएर
हेर्दै गए पालैपालो
प्रदर्शनीमा राखिएका पोट्रेटहरूलाई
र फर्कंदै गए उसैगरी
क्रमशः
चुपचाप, चुपचाप
जब
बाहिर निस्कने ढोकाको
छेउनेर टाँगिएको
अन्तिम आकृति देखे उनीहरूले,
रेखा–रेखा केलाएर
रङ्ग–रङ्ग नियालेर
हेर्न थाले – अपलक, आश्चर्यचकित भएर,
लौ ! यो कस्तो
अनौठो आकृति मान्छेको ?
आँखाको ठाउँमा पोतिएको कालो
मुटुको ठाउँमा ढुंगा
ओठको ठाउँमा उराठ बगर
अनि नाकचाहिँ पाइतालामा
र हत्केलामा धारिला नंग्राहरू
सबैले
बुझेजस्तै गरेर भने
“अमूर्त रहेछ यो, अमूर्त !”
तर कसैले बुझेनन्
खालि एउटा ऐना थियो टाँगिएको त्यहाँ
र आ–आफ्नै
प्रतिविम्ब हेरिरहेथे मान्छेहरू !