Last modified on 2 फ़रवरी 2022, at 21:38

विसङ्गति / प्रवीण राई 'जुमेली'

पालुवाहरु भएर उम्रिऊँ म उसको वसंतभरि
त्यसरी उसले उच्चाएको हुनसक्छ इच्छाका हिमालहरुलाई
कुक्कुका रागहरुमा अलापिऊँ म उसको पखेराभरि
त्यसरी उसले रोपेकी हुनसक्छ रहरका बिरुवाहरुलाई
तर जीवनको कालाहांडीमा नूनको डल्ला बोकेर
पानीको कुवासम्म पुरयाइदिने
बाँदरको प्रतीक्षा गर्दै बसेको छु म
आशाका टापुहरु लिएर केही बाँच्ने उम्मेदहरु पनि
देखिँइदैन टाडातिरसम्म
यो विशाल जलाशयमा
कुनै मरुद्यानको दिशा बताएर
खुट्टाहरु कसले लगाइदिने यी क्याक्टसहरुलाई
एकातिर गएकी कुख्रापोथी खुशीहरुलाई
अर्कोतिर खोजिरहनु स्याल मान्छेले
खुशीहरु पनि अचेल सपनाहरु जतिकै झूटा हुनथालेका छन्
आकासका ताराहरु जतिकै टाडा बस्न थालेका छन्
चैत बैसाखको भाभरमा पनि
झरी नपरेर बुङबुङ उडिरहने धुलोहरुबीच
मकैले टुसा हानिछाड्छ
अनि असारको झरी पर्खेर बाँचिरहन्छ।।