Last modified on 28 जुलाई 2020, at 14:14

वृद्ध सपनाहरु / सुदीप पाख्रिन

जब जब
घरमुनिको
नरिवलको बोटको हाँगामा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग' कराउथ्यो — एका बिहानबिहानैदेखि
तब तब
मेरी बूढी हजुरआमाका वृद्ध आँखाहरु
पर............
बाटोको उपल्लो छेउसम्म
परदेशिएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
अनि
स्वचालित ढंगले
केही सपनाहरु बुनिन्थ्यो
न कुनै क्रुसहरु
न त हातहरु नै देखिन्थे — आँखाहरुमा
रपनि
वृद्ध सपनाहरु बुनिन्थे — वृद्ध आँखाहरुमा

'काग कराउनु'
अनि 'खबर आउनु' बीच
कुनै नाता नरहे झैं,
आँखाहरु
र सपनाहरुको पनि
आजभोलि
कुनै सम्बन्ध छैन;
जीवन
र रहरहरु पनि कहीं कतै सम्बन्धित छैन ;
तरैपनि
जबजब
घरमुनिको
नरिवलको बोटका हाँगाहरुमा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग' कराउथ्यो — एका बिहानबिहानैदेखि.......