Last modified on 12 सितम्बर 2024, at 11:22

व्याकुल साँझ / मौन आवाज

म एक्लै छु
र टाढा
जून एक्लै छ आकाशमा ।

साँझपख
कसैलाई पर्खिरहेको
एउटा प्रतीक्षारत छाँया छ
नैराश्यता छ
र मौनता छ ।

साँझमा
जून एक्लै छ
म एक्लै छु ।

एउटा क्रमिक ध्वनि
जो अटूट
प्रतिध्वनित भैइरहेछ यतै कतैतिर ।

साँझमा
एउटा अटूट धून जो गुञ्जिरहेछ / निरन्तर -
म सुन्दैछु
ती नबजेका धूनहरू - जो बज्नेवाला छ
आउनेवाला छ कोहि
पर्खिरहेछु !

टुक्रा / टुक्रा हुँदैछ उज्यालो
बढ्दैछ अँध्यारो ।
म अझै एक्लै छु
र टाढा अझै एक्लै छ जून !

साँझमा
म एक्लै छु
र कोहि आउनेवाला छ
पर्खिरहेको छु !


०००