जसका लागि समर्पित छन्– यी शब्दहरू
उनीहरू बुझ्दैनन्– यसको अर्थ !
उनीहरू बुझ्छन्– बतासको रङ
आकाशको भाका
र झरीको मौनता
मेरा यी शब्दहरू विपरीत– उनीहरू
मानिसलाई ठान्छन्– शब्दको ईश्वर
र आफ्नै रगतका उज्याला फूलहरू
चढाउँछन् – त्यसलाई
भत्काउन दिन्छन्– पसिनाका प्रस्तरहरू
दाँत खसेको कोदालो
निभ्नलाई बलेको लालटिन
लहरे खोकी
र मध्यअसारको चकाभक...
कति गम्भीर छन्– शब्दका ईश्वरहरू
उनीहरूले बुझून् भनेर
मानिसको शालीनताविरुद्ध मैले
आफ्ना धारिला शब्दहरूलाई उफारेँ–
सडक–सडक
चोक–चोक
गाउँ–गाउँ
बस्ती–बस्ती
पर क्षितिजमा अल्पिरहेका ताराका बथानहरू देखेर
थाहा हुनुपर्ने हो– शब्दको जीवन
एक्ली साँझको सुकसुकाहट सुनेर
फर्किनुपर्ने हो– त्यो तन्नेरी शब्दको वैरागी अर्थ
त्यो शून्य रात उसलाई भञ्ज्याङमै भेट्नुपर्ने हो
–उनीहरूका निश्चल आँखाहरूले
केहीछिन–
आलीमा बसेर सुर्ती खानु
उठेको धुवाँभित्र
उडिरहेको जहाज र उङिरहेको जून हेर्नु
ओढिराखेको घुम खस्नु
हल्लिरहेको बाँसको टुप्पोमा निदाएको कुनै चराले
आफू मरेको सपना देख्नु
यी सबै ईश्वरहरू हुन्–शब्दका
जसका लागि समर्पित छन्– यी शब्दहरू
उनीहरू बुझ्दैनन्– यसको अर्थ ।
उनीहरू बुझ्छन्– बतासको रङ
आकाशको भाका
र झरीको मौनता