तिम्रो सौन्दर्यक्रान्तिको चन्द्रमाले
शरणार्थी बनायो
बाध्य भएको छु
शब्दहरूको शरणमा
फूलमाया ।
तिम्रै गीतहरू गाइरहन्छन्
मायाका सुदूर जङ्गलहरू ।
के थिएन र मसँग ।
संसार बनाउने हातहरू—
आकाश धान्न सक्ने थाप्लो—
जीवन बोक्न सक्ने काँध—
पहाड चढ्ने विश्वासका खुट्टा—
के थिएन र मसँग ।
हिमाल मेरै पर्खाइमा अचल रहन्थ्यो
पहाड मेरै बिहानसँग ब्युँझन उठ्थ्यो
आफैमाथि चिप्लेटी खेलेर नदीहरू
मेरा रहरका ओठहरूसँगै उर्लिरहन्थ्यो
तँछाडमछाड गरेर झरिरहन्थ्यो इन्द्रेनी
के थिएन र मसँग ।
कहिलेकाहीँ सबै थोक भएर पनि
शरणार्थी बन्नुपर्दो रहेछ
दास बनाउँदो रहेछ सम्पन्नताले
फूलमाया ।
सबै थोक भएर
मन नभइदिएको भए मसँग
मेरो कवि डुब्ने थिएन
तिम्रो सौन्दर्यक्रान्तिको चन्द्रमाभरि
गाउने थिएनन् चराहरूले
मेरा आवाजहरू टिपेर
तिम्रा गीतहरू,
उमारिरहन्छु
अभिव्यक्तिका तह–तह खेतहरू
शब्दहरूको शरणमा तिम्रो स्तुति,
हराइरहन्छन् बतास भएर
तिम्रो मायाको जङ्गलमा
मेरो ह्दयका जराहरू ।