अस्ति, एउटी अप्सराले
धारे हात लगाउँदै भनिन्-
‘कस्तो ठ्ठीस् रै’छ’ ।
हिजो, शम्चूकै जिग्रीले
शङ्का गर्दै भन्यो;
‘ओइ तँ त खुस्किस कि क्या हो ?’
मलाई पनि
‘केटो साच्चैँ क्य्राक भएकै हो त’
भन्ने लाग्यो
र बेस्सरी चिमोठेँ गालामा।
ऊ त लडिबडि गर्दै
खित्का छाडीछाडी हास्न पो थाल्यो ।
अनि मलाई पक्का भयो
शम्चू बहुलाएकै रै’छ ।
कसैले माया गरेर बोलायो
बाउँठिएर अर्कै बाटो हिँडिदिन्छ
आफन्तले फकाउँदै सम्झायो
तर्सिएर बास बस्नसम्म घर आइपुग्दैन ।
काम धन्दा चौपट पारेर
मख्ख पर्दै साथीहरूको धक्कु सुनेर
दिन कटाउँछ
सा’रै बेपरवाह भएको छ
आजकाल शम्चू ।
अनि मलाई विश्वास भयो
शम्चू बहुलाएकै रै’छ ।