मलाइ, फुलेका लामा दाह्रीले आफूतिर घिच्याएजस्तो लाग्छ
ओठमाथि फुटेका जुघाले पनि उतैतिर घुचेटेजस्तो लाग्छ
कति बस्न सकुँला र म यो जीवन-मार्गमा ?
मता चिन्ताको बोझ लादिएको
ठेलगाडा पो भएँ कि जस्तो लाग्छ
न त वसन्तकै फूलजस्तो रहेको छु म
न त शिशिरकै पातजस्तो झरेको छु म
जरामा जल ओइलाएको मुनाझैँ
किन किन मन नै निन्याउरो भएजस्तो लाग्छ
न त स्वर्गक सुखभोग पाएँ मैले
न त पृथ्वीमै निरोग कहाएँ मैले
यता न उता त्रिशंकु पो भएँ कि म ता जस्तो लाग्छ
न त मध्याह्नको प्रचण्ड छ मेरो किरण
न त पश्चिमांचल नै नाघेको छ मेरो चरण
मलिनो घाम फालेर नभमा टाँसिएको
तामाको थाली पो भएँ कि जस्तो लाग्छ
अन्नको नाश, वस्त्रको नाश, सेवा शुश्रूषाका नाशा
न जुरुक्क न हुरुक्क, समाजको, संसारको नै
एउटा गह्रौँ बोझ पो भएँ कि जस्तो लाग्छ
जीवन त अन्धकारजस्तो निराश लाग्छ !
...............................
कविता-कुञ्ज-बाट २०२०