मान्छेहरूको जङ्गलमा
फेरि हरायो एउटा मान्छे
सत्ते भन्छु– त्यसको अनुहार
ठ्याक्कै तिमीजस्तै थियो।
ऊ हराएकोमा
कुनै सूचनाहरू छापिएनन्
कुनै विज्ञापनहरू बजेनन्
पत्रिकाहरूमा / रेडियोहरूमा।
ऊ हराएकोमा
कुनै आफन्तहरू तातेनन्
कुनै परिचितहरू निस्किएनन्
खोजीमा / सडकहरूमा।
यथार्थमा बस्तीमा
एकमात्र स्पष्टवक्ता थियो ऊ
इमानदारिता मानौँ–
रगतसँगै सञ्चरित हुन्थ्यो
उसमा नसानसा र कोषिकाहरूमा।
बस्तीमा उसले
ठूलाठूला अपराधहरू गरेको थियो
मान्छेलाई मान्छे ठान्ने अपराध
कालोलाई कालै भन्ने अपराध
... यस्तै ... यस्तै ...।
अब गाउँ शान्त छ स्थिर
कुनै चहलपहल छैन
गाउँकै मान्छेहरूको भाषामा–
'अब गाउँमा शान्ति छाएको छ।'