Last modified on 16 जुलाई 2017, at 16:22

शाब्दिक तरङका पिरामिडहरु / सविता गौतम दाहाल


केवल !
तैरीरहेछु अक्षरजस्तै
महान मस्तिष्कका नदी
वाक्यको पानीजहाज चढेर महासागर देख्नु
जटील हावासंग वहनु
फरक घनत्वको पानीमा पौडनु
शाब्दिक तरङका आधुनिक पौराणिक पिरामिडहरुको उतारचढाव
अनौठो हुदोरहेछ ।

घिस्रिनु रेप्टाइल्सजस्तै
लम्कनु डाईनोसर जस्तै
उक्लनु अप्ठ्यारो पहाड घोडा चढेर
लडनु सम्राटहरुसंग युद्ध
वीर हुनु रहेछ ।
छिचोलेर जंगल ज्ञानको
आदिम गोरेटो हिडिरहेछु ।

स्पर्श गर्दैछु
गार्गीका पाईला
बुद्धको त्रिपीटक
पवित्र कुराण
मीराको भजन
प्रारब्ध विश्लेषण पुराणको ।

भेटाइरहेछु
संघर्षको अथाह अवशेष
कलात्मक अनन्त सिक्र्री स्वरुप
त्यागका अमर गाथा
ऑशु, विद्रोह, वदला
मन छुने सिर्जनाका तानावाना
बेदव्यासका जस्तै ।

मात्र !
सिकीरहेछु मणिकर्णिका
चाल्न उत्साही कदम, अभ्यासको चरम
सुन्न धैर्यपूर्वक, जुझ्न शक्तिजस्तै
र वुझ्न स्वर्णकाल, अन्धकार युग ।

यात्रामा अढेर केहीवेर
बन्दरगाह घुम्नु
कुटीमा वस्नु, कन्दमुल खानु
र सुन्नु शब्दका स्पन्दन
यायावर विचरण गर्दैछु
सारा प्रकृति, ईतिहास ।

पिरामिडको लय छ
कतै भय छैन्
तरङको असीम आनन्द, झुमिरहेछु ।

केवल !
सिकीरहेछु, सिकीरहेछु ।