खुसी हुनुभएपछि हजुरआमा
छानोदेखि मझेरीसम्मै उज्यालिन्छ
एउटा सिङ्गो घर ।
खुसी हुनुभएपछि हजुरबुबा
शिरदेखि पाउसम्मै उचालिन्छ
एउटा सिङ्गो हिमाल ।
वाणीको आफ्नै अभिव्यक्ति
दृष्टिको आफ्नै संवाद
श्रुतिको आफ्नै व्याकरण
तर,
त्यसैमा छ जीवनको मधुर अभिव्यञ्जना ।
चियाउँदैछु,
आकाशभन्दा फराकिला आशीर्वाद-आँखाहरू !
दलानकी जून- हजुरआमा
बार्दलीको घाम- हजुरबुबा ।
फिँजिएपछि जून-घाम
आँखाभरी खेल्नथालेका छन्- सपनाहरू !