म सोच्थेँ
मनको पछिपछि हिँड्ने
एउटा मै मात्र छु ।
तर बिना स्वार्थ मन जोडेर
पर्वाह गर्ने
तिमी पनि त
मभन्दा के कम रैछौ र !
जीवनका क्रुरताको तातो चिम्टाले
अनवरत डामिएर
बोधशून्य भएको मेरो मनलाई
मैनजसरी पगाल्न सक्ने
तिम्रो प्रेमको उष्णता शीतल हो
या
तिम्रो अनुरागको परागमा
लपक्कै भएर टाँसिने
मेरो मनको कठोरता कोमल ?
एउटा भ्रमजस्तै लाग्ने
सत्य हो कि सपनाजस्तो
पागलपनको पछाडि
यो मन, किन
यतिबिघ्न नाजुक हुन खोजिरहेछ !
तिम्रो साथको उष्णता मलाई
किन यति ज्यादा शीतल लागिरहेछ !
००००