Last modified on 2 जुलाई 2021, at 08:10

शोकगीत र अतृप्त युद्ध / गीता त्रिपाठी

तिमी लासहरूका अधिपति
अढाइ करोड शोकगीतका कोरस धुनमा
एक्लो बिजेता म्युजिकल चियरको ।
 
तिमीसँग खेलको जादुगरी थियो
र यो ठूलो मैदानमा
वर्षौंदेखि तिमी शोकधुन पर्खिरहेथ्यौ
मृत्युउत्सवको सहरी वनभोजमा
त्यही धुनको पार्श्व गीत गुञ्जिरहेका बेला
तिमीले
एउटा अतृप्त युद्ध जितेका थियौ ।
 
युद्ध जितेपछि
तिम्रा कैयन् सारथिहरू
यन्त्र मानवझैँ फैलिए यो सहरमा
अपार सन्तुष्टि भो तिमीलाई
सारा लासहरूका सिरानीमाथि
उभ्याएर सपिङ मल
सपनाहरू बेच्न आतुर भयौ तिमी ।
 
म लासहरूको आत्मा हुँ
मेरा पखेटाहरू
सिरानीमा राखेका छौ तिमीले
र निदाएको बहानामा
जुद्ध सालिकमुनि
अर्को अवतार लिएका छौ ।
 
उडन्ते घोडाका टाप हौ तिमी !
तिम्रो हिंस्रक कुदाइको अन्तहीन पदचापमा
अर्को एउटा युग भासिँदै छ यो सहरमा
लाग्छ, बिउँझनुबाट भागिरहेछौ,

बिर्सिरहेछौ सारा उचाइहरू
बिर्सिरहेछौ सारा फैलावटहरू
धुलाम्मे मरूआकाशतिर एकोहोरिएर
बेचैन छौ अर्को म्युजिकल चियरका लागि
 
यत्तिखेरै
तिमीलाई इन्द्रासनको सपना भएको छ !