Last modified on 28 मई 2017, at 11:27

श्राप / विक्रम सुब्बा


गौँडा-गौँडामा सौन्दर्यहरु ड्युटीमा तैनाथ छन्
क्याप्सुलजस्ता जवानीका ओठ उघारेर
बाबरी फुलजस्ता गुरुङसेनी ङोलोस्योहरू
अन्नपूर्णको दाँत जडेर सप्फा हाँस्दछन्
बाटुलेचौरका सारङ्गीहरूलाई
भोकै परे पनि हिमालको यौवनसँग
दोहोरी गाएर सन्तुष्ट भएपछि मात्र निद्रा लाग्छ
कविहरू, माछापुच्छ्रेको फेदमा फलेको
स्नीग्ध वातावरणको पन्नामा
मुटुको टुप्पाले कविता लेखिरहेछन्
पाहुनालाई जेठाबुढाको भात र फापरको ढिँढोसँग
गोलभेडामा टिम्बुरको छोपजस्तै मुस्कान पस्कन्छ
माइली थकाल्नीको भान्छा घर

तालतालका बडेबडे प्यालामै पसेर
दिउँसै रमरम मातेर वतास
पर्यटकका गर्लफ्रेण्ड सुँघ्दै हिँड्छ
तपश्यामा मग्न पहाडहरूको ध्यान भंग गर्न
वादलले विजुलीसँगै ताण्डव नृत्य थालेपछि
हेर्दाहैर्दै पर्वत सृङखलाहरूमा उभिएका
जून ताराका आँखाबाट
झर्के थालमा सित्तल पञ्चामृत वर्षन्छ
यहाँ, जताततै रोमाण्टिक जोडीहरू
हेराहेर गर्छन्
के के सम्झन्छन् र फिस्स हाँस्छन्
अझ सुन्दर हुने होडबाजिमा
उपत्यकाका हरेक छन्द र अनुप्रासहरु
शालीग्राम जस्तै चिटिक्क चिल्लो भएर पेस हुन्छन्
ओ सौन्दर्यले भरिपूर्ण रसप्लाविता !
ओ पोखरा !!
तिमी देखेर मेरो पीताम्बर वैँस पनि हुरुक्कै भएकोले
म श्राप दिन्छु कि – ‘तिम्रो जवानी कहिल्यै नढलोस् !’