गीतहरूमा दर्दको निवारण पाए
त्यस गाइनेलाई अभिशप्त भन्ने थिएनन्
स्वरको संयोजनमा समस्याहरूको निदान पाइने भए
त्यस तानसेनले अवहेलनाको सामना गर्ने जरुरत थिएन ।
गाइरह्रयो युग–युग वीरताका गीतहरू
विवाह, न्वारन, पास्नीका गीतहरू
स्वर र मनको उचाइसम्म पुगेर
उसले गीत गाइरह्रयो, अवहेलना पाइरह्रयो।
एउटा मात्र काम गर्न बिर्सिरह्रयो गाइने—
कि उसले आफ्नो गीत रच्न सकेन
आफ्नो गीतलाई शब्द र स्वर दिन सकेन ।
रेट्न सकेन सारङ्गीमा अमिल्दो उसको जीवनलाई
गाइने अरूकै गीत गाइरह्रयो, अवहेलना पाइरह्रयो।
गाइनेभित्र उसको पुस्ता–पुस्ताको कथा
उनीहरूले सभ्य समाजको असभ्य चारण भइदिएको कथा
बिझाइरहन्थ्यो बेतको काँडाजस्तै।
मुटुभित्र कतै पसेको पुस्तौँअघिको काँडा
निकाल्न सकेको थिएन उसले।
अरूकै गीत र गाथामा
आफ्नो व्यथित स्वर बेचिरह्रयो।
जीवनलाई एउटा गह्रौँ भारीजस्तो उकालीमा
खेपिरह्रयो, सारङ्गीको तार रेटिरह्रयो।
उसको वरिपरि झुरुम्मै भइरहे मानिसहरू
भुराभुरीहरू सिँगान तान्दै हँसाउने लहर पर्खिरहे
गाइने टाढा क्षितिजमा गाडेर भास्सिएका आँखाहरू
एकतिर गीत गाइरह्रयो।
अर्कातिर विरह रोइरह्रयो
आफ्नो विरह उसको, जुन
गाइनेले गाउन सकेन, जन्मजन्मान्तर ।