Last modified on 28 जुलाई 2020, at 14:08

संवेदनाको हिउँ / सुदीप पाख्रिन


नपग्लिएपछि
अलिकति पनि
आँखाहरुबाट संवेदनाहरुको हिउँ
नछोएपछि
छ्वास्सै पनि
ताता फलामे मुटुहरुलाई
चिसा अनुभूतिहरुका छालहरुले
आजभोलि
दिउँसै

नयाँसडकमा
लालटिन बालेर
कविता सुनाउन
श्रोता खोजी हिड्दैछु
एउटा हार्दिकता खोजी हिड्दैछु
फुर्सद छैन हजुरहरुलाई ?
ठीकै छ !

बिशालबजार अगाडि
खुला सडकमा उभिएर
ट्राफिकलाई अटेर गरेर
मेरो 'लेटेस्ट' कविता
आज
शालिकलाई सुनाउँछु !

मेरो कविता
जुद्ध शमशेरलाई सुनाउँछु !!
र,
शायद
के थाहा ?
भोलि

मेरो भोलिका कविता
हिटलरलाई सुनाउनेछु !!!
नपग्लिएपछि
अलिकति पनि
आँखाहरुबाट संवेदनाहरुको हिउँ...