Last modified on 22 नवम्बर 2016, at 09:23

सडक किनारनेर ती क्षणहरू / मनप्रसाद सुब्बा

समयको सडक हिँड्दा हिँड्दै
एक छेउ डिलनेर बसेर
हामीले जे जति कुराहरू गर्यौं
ती कुराहरू
दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन्।
ती त हामीले बाँचेका क्षणहरू हुन् –
हामी जो ढुङ्गाको चेपमा उम्रेको घाँस जस्तै
यसबेला एकदमै यहीँनेर छौं ।
कसैले ती कुरामा अर्कैअर्कै कुराहरू देखेर
भ्रम मात्र हो भनिदिँदैमा
हामीले बाँचिसकेको त्यो क्षण कहाँ फेरिन्छ र !
त्यो क्षणभित्र देखेको सत्य कहाँ साटिन्छ र !!

हामीले त्यस बेला
मन खोलेर हाँसेका हँसाइहरू
कुनै टुथपेस्टको विज्ञापनलाई थिएनन्
हामीले बोलेका ती शब्दहरू
कुनै नाटकको निर्देशकले रटाएका होइनन्।

घडीको घेरोबाट मुक्त क्षणहरूसित म
उपभोक्तावादको बजार छोडेर टाढा पुगेको थिएँ
व्यावहारिकतावादको बन्धनबाट पनि उम्केको थिएँ।
ती क्षणभरिका विश्वास
र आत्मविश्वासको कुरा गरिरहेको छु म।

कतै तिमीलाई मेरो यस्तो कुरा
वाहियात त लागिरहेको छैन ?