धवलागिरी अग्लो हुन्छ भनेर
सगरमाथा भत्काउनेहरू
सुम्निमाको वस्त्र फुकाल्दै
अराजक भाषामा
मुन्धुमको युग छोट्याउँछन्
चोमोलुङ्माको शिर निहुरेर
सपनामा व्यङ्ग्य गर्छ।
तर
प्रार्थनामा उठेका हातहरूलाई
चेतनाका देवताहरू अस्वीकार गर्छन्
क्रमशः युगको हिमालचुली भत्किरहन्छ
तर शाश्वत सत्य
आस्था नभत्केपछि
लाटोकोसेरो बासेको साइत पारेर
फेरि एउटा सूर्य उदाउँछ ।
हो, सत्यको हार कहाँ हुन्छ र ?
सगरमाथाको शिरमाथि
हिउँका फूलहरू
सेताम्मे फुलिरहन्छन्
न पत्थरको पहाड भत्किन्छ
न आस्थाको वस्त्र फुस्किन्छ ।