सधैँ– सधैँ मेरो सपनामा
असङ्ख्य युवती आमाहरू
मेरोअगाडि आउँछन्
र बहुलाई झैँ
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन -’
भन्ने गीत गाउँछन्
र मलाई देखाई–देखाईकन
सँगुरका भद्दा गन्दा बच्चाहरूलाई झैँ
आफ्नो अतिशय दूधले गानिएको
स्तन चुसाउँछन्
अनि एक्कासी
छाती पिट्दै
कपाल लुछ्दै
मसँग आफ्ना हराएका छोराहरू माग्न थाल्छन् ,
सधैँ–सधैँ मेरो सपनामा
असङ्ख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्ण-तन वृद्धहरू
र विदीर्ण मन वृद्धाहरू
मेरोअगाडि आएर लम्पसार पर्छन्
र मसँग
आफ्नो अथाह भविष्यको सूत्र माग्छन्
आफ्नो हराएको एक पुत्र माग्छन् ।
सधैँ–सधैँ मेरो सपनामा
असङ्ख्य युवती विधवाहरू मेरोअगाडि आएर
आफूलाई सम्पूर्ण रूपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेको
काला–काला डामहरू देखाउँछन्,
र मसँग आफ्नो जीवनको सहारा माग्छन्
मसँग आफ्नो यात्राको किनारा माग्छन् ।
सधैँ–सधैँ मेरो सपनामा
क्षयका कीटाणु बोकेका
असङ्ख्य टुहरा केटाकेटीहरू
मेरोअगाडि आउँछन्
र मसँग स्कूलको फीस
पुस्तक किन्ने पैसा
क्रिकेटको बैट
र पिताको चुम्बन माग्छन्
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात ।
यसरी नै सधैँ–सधैँ मेरो सपनामा
मलायाका असङ्ख्य–असङ्ख्य मानिसहरूको
आँशुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठ्छ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लाशले घृणाले हेर्छ
आह, मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छं ।
(२०१६–शारदा)