अनिर्णयको बन्दी भएर
राज्य स्वयम्
तरबार लिएर
युद्ध मैदानमा उत्रिएको छ
किमकर्तव्यविमुढ सर्वसाधरण
टुडिखेलको पर्खाल बाहिबाट
घोडे जात्राको गोला बारूद
अवाक् हेरिरहेछन्
सडक
कहिल्यै सेलाउन सकेन
राजमार्ग
कहिल्यै अवरोधहीन हुन सकेन
अस्पतालहरू
वेवारिसे लासहरूको
पोस्टमार्टममैं व्यस्त छन्
कहिल्यैं निर्धक्क बाँच्न सकिएन
सधै मनभरि सन्त्रास लिएर
म स्वतन्त्रता भोगिरहेछु
सधै स्वतन्त्र हुने रहरमा
म दासताबाट उम्कन खोजिरहेछु
लोकसेवा होइन
मेरो गन्तव्य
यति वेला वैदेशिक रोजगारमा जान
भिसाका लागि
दूतावासको अन्तर्वार्ता भएको छ ।
म यति वेला
यो देश असुरक्षित महसुस गरिरहेछु
अनिष्ठ र भयावहको
भेल नै यति वेला सामना गरिरहेछु
हो देश चलाउनेहरू
यति वेला निर्जीव प्राय छन्
कस्को गन्तव्य सुरक्षित छ ?
न सरकार सुरक्षित छ
न जनता सुरक्षित छन्
न देश सुरक्षित छ ।