Last modified on 1 जून 2017, at 19:46

सपना हेर्दै म / निमेष निखिल


बिच बजारमा दुबिधा उभिएको छु
रङ रङका सपनाको खात छ आँखाअघि
म निर्निमेष सपना हेरिरहेछु।
 
भोको पेटका सपना छन्
नाङ्गो आङका सपना छन्
भाग्यले ठगिएका र गिद्धे आँखाले डामिएका
आफ्नै चेलीका सपना पनि छन्
सपनाहरू कोही सादा छन्
रङ्गीन पनि छन् कोही सपना
यस्तो लाग्छ―
यहाँ सपनाका जाति प्रजातिको महामेला छ।
 
विपन्न मान्छे बेचिरहेछन् सपना
किनिरहेछन् सपना सम्पन्न मान्छे
यस्तो लाग्छ―
बेच्नेले सपना― आँसु बेचरिहेछन् आफ्ना नानीहरूका
बदलामा किन्नेहरू सपना खेलौना किनिरहेछन्
आफ्ना नानीहरूकै लागि।
 
कोही बेचिरहेछन् सपना
ताकि सपनाको मूल्यलाई ऐसआराममा अनुवाद गर्न सकियोस्
देशमा/विदेशमा
कोही बेचिरहेछन् सपना
ताकि सपनाहरूको प्राप्तिले उक्सियून् केही रित्ता पेट
र बजोस् ताउलाहरूको तृप्त सङ्गीत भोका मझेरीहरूमा।
 
यसै गरी चलिरहेछ सपनाहरूको बजार अनादिदेखि
खै ! कहिलेसम्म चल्छ यसरी थाहा छैन।
 
र पनि
सपनाहरू त बिच बजारमा हैन
आँखैमा सुहाउँदा रहेछन्।