Last modified on 12 सितम्बर 2024, at 18:28

सफर / महेश मास्के

प्रज्वलित चिताको अगाडि
धेरै बेर उभिएर चुपचाप
खरानी भएका
केही सपनाहरू टकटक्याएर
र केही
अर्वजलित टुक्राहरू समेटेर
जब ऊ गयो
र सुनिन छाड्यो उसको पदचाप
तिमीले भन्यौ

"निर्दयी
निराश अँध्यारा रातहरूमा
जो विश्वासको ननिभ्ने मशाल बनी
घृणा र प्रतिशोधको तपतपाउँदो मरूस्थलमा
जो स्नेहको शीतल बाछिटा बनी
संघर्षको ढुंगे बाटोमा
जसका कदम साथ साथ अघि बढे
र न्यायको जीतमा
जसका विश्वासहरू अडिग रहे
आज उसकै मृत्युमा पनि
बसेन एक थोपा आँसु
पग्लेन पाषाण-मन !"

तर साथी
भूल हो तिम्रो यो
देख्न सकेनौ तिमीले
उसको आँखामा जमेको बरफ
जसलाई चिताको रापले पनि पगाल्न सकेन
देख्न सकेनौ तिमीले
त्यसमा प्रतिविम्वित आक्रोशका लप्काहरू
जसलाई सपनाको खरानीले पनि ढाक्न सकेन…

......ऊ गयो उस्लाई जान देऊ
प्रगतिको पाईला हो ऊ
अघि बढ्न देऊ
सफर अझै टुंगिएको कहाँ छ ?
संकल्प अझै टुक्रिएको कहाँ छ र ?

०००