Last modified on 9 जून 2017, at 10:51

समयका पानामा जिन्दगीको स्केच / निमेष निखिल


तन्नेरी रहरहरूको ढाकर
बिसाएर उमेरको चौतारीमा
समय गाइरहेछ मग्न
माछी मार न हे दाइ हो... ...*
 
छेवैको बाटैबाटो
उकालो, उकालो लागिरहेछन्

झरिरहेछन् ओरालो
अनन्त सुस्केराहरूको ताँती।
 
जिन्दगीको महानदीमा
सकिएन बैनी हो माछी मार्न
नसम्झेको त कहाँ हो र
सम्झनु नै अरू के पो छ र
र पनि सकिएन आउँदै जाँदै गर्न
सम्झेर तिमीहरूलाई।
 
समयले बाटोभरि थापेको छ धराप
बस्ती नै बगाउँला झैँ उर्लेको छ दुःखको खोला
कसरी तर्नु?
र कसरी आउनु भेट्न तिमीहरूलाई?
तिमी उता म यता ज्यान त टाढा छ... ...*
रङ्ग हुँदैन मायाको
थाहा पाउनु कसरी
गाढा हुन्छ माया कि फिक्का?
कि सक्छ कोही
मायाको रङ्ग बताउन?
एउटा चुनौती मान्छेलाई
एउटा प्रश्न समयलाई।
 
गह्रौँ मनले बिदा गरेको
एउटा रहर जिन्दगीभरिको
तन्नेरी छोरो
जीवनभरिका सपनाहरू पोको पारेर
भासिएको छ मुगलान
के थाहा उसलाई !
उसको अनुहारमा
समृद्धिको सगरमाथा देख्ने बाबुआमा मन
भाषा कतिपय यस्ता पनि हुन्छन्
जसलाई न मान्छेले बुझ्छ
न बुझाउन सक्छ समयले।
 
खुम्चँदै गरेको सडक टेकेर
अब गाह्रो छ
यात्रा तय गर्न जिन्दगीको
झमेलाहरूको हड्ताल छिचोलेर
सकिँदैन जिन्दगीको किनारा टेक्न अब
विज्ञापित प्रेम
र प्रायोजित मिलनको सहारा लिएर
सजिलो छैन
जिन्दगीको बाँकी बाटो काट्न
 
पीडाको रोगनले रङ्गिएका मझेरी
आँसुको सुनामीले पखालेका सपना
र बाटो बिराएको एउटा यात्रा
यो नियति हो
आजका मान्छेको।
 
पहिरो भत्केका विश्वासका कान्लाहरू
उदासी फुलेका रङ्गहीन फूल
नेटो काटेका रहर
र अभावको राग अलाप्ने भोका ताउलाहरू
उस्तै छन् आज पनि
 
नयाँ शताव्दीको रोगनले
पोतेर बाहिरी आवरण
विभ्रमको सिङ्गो आकाश बोकेर शिरमाथि
कहाँ जान्छौ माझी दाइ ?
जिन्दगीका सपना फुल्ने तिम्रा खोलाहरूमा
मात्र प्रवाह र लहरहरू बाँकी छन्
जीवन हिँड्ने तिम्रा गोरेटाहरूमा
तिखा सिसाहरू छरपस्टिएका छन्
संसारलाई ढाँटे पनि
आफूलाई ढाँट्न कहाँ सकिँदोरहेछ र
तिम्रा आँखामा जीवनको भ्रम पढेर
आज मलाई
आफ्नै जिन्दगीको अर्थ खोज्न मन लागेको छ।

समयले बिरक्त बनाएका मनहरू
आलस्य हिँडिरहेछन्
कहीँ नपुगिने जीवनको एउटा बाटो
हाम्रो बिचमा छरेर वैमनस्यता
समय
फुटको राजनीति गरिरहेछ बस्तीमा
मान्छे टुक्रेर
अनुवाद भएको छ जातजातिमा
धर्ममा। सम्प्रदायमा।
दलमा। समूहमा।
विचारका मसिना घेराहरूमा
 
सबै छन् देश नामको मानचित्रमा
तर कठै !
एउटा देश मात्र छैन देशभित्र।
 
मान्छेको अनुहार ओढेको
समयको एउटा जत्था
भत्काइरहेछ
विश्वासको पर्खाल
फाँडिरहेछ
आत्मीयताका पोथ्राहरू
सुकेनास लागेका सपनाहरू
बैसाखी टेकेर हिँडिरहेछन्
गाउँका गोरेटाहरूमा
अत्यासहरूको लस्कर
आतङ्क छर्दै दौडिरहेछ
सहरका सडकहरूमा
सबै थोक छ गाउँमा र केही पनि छैन
सबै थोक छ सहरमा र केही पनि छैन।
 
काला हिमालहरू हाँसेको
जिन्दगी- एउटा कुरुक्षेत्र
विपतका कहालीलाग्दा कथाहरू
सुनाइरहेछ समय सञ्जय
वेदीमा बलि चढिरहेछन्
सुदिन आगमनका सपना/चाहनाहरू
भूमिगत छ कृष्ण, रच्दै होला लीलाहरू
पाण्डवहरू पनि देखिँदैनन् कतै
हाहाकारको सिम्फोनीमा
सन्त्रस्त्र ताण्डव नाचिरहेछन् भयभीत मनहरू
दिनको उज्योलो अन्धकारमा लुकाइरहेछ
साना बालकहरूलाई
तन्नेरी छोराहरूलाई
बिच सडक अस्मिता गुहारको लय हाल्दै छन्
तरुनी छोरीहरू र कमजोर आमाहरू
समयको अदालतमा
मान्छे खोजिरहेछ न्याय
मान्छे खोजिरहेछ एउटा देश
 
तर यहाँ हिमाल मात्र छन् विषादका
पहाड छन् भोकका
नदीनाला छन् आँसुआँसुका
नेता छन् र कार्यकर्ता छन् स्वस्वार्थमा नुहाएका
जनजाति
मधेसी
बाहुन क्षत्री
सबै छन्
नेपाली छैन
 
सबै थोक छ
अन्यायको हाहाकार छ
न्याय छैन
सुरक्षा निकायहरू छन्
सुरक्षा छैन
त्रासको डरलाग्दो जङ्गल छ
निकास छैन
नाराहरू कति छन् कति
विकास छैन
 
सबै थोक छ/धेरै थोक छ यहाँ
छैन त केवल
हुनु पर्ने एकमात्र देश छैन।
हहह
 

  • प्रसिद्ध लोकगीतहरू।