Last modified on 1 जून 2017, at 20:42

समयको निबन्ध : कविता / निमेष निखिल


हिँडेका छौँ अँध्यारो ओढेर, बोकेर अनिद्रा आँखाभरि, बगरैबगर, किनारै किनार। निर्बन्ध पीडाका छालहरूको माला भिरेर सुषुप्त चेतनाभरिभरि, थाहा छैन कहिलेदेखि। भिजिसकेछन् आँसुले समयका पट्यारलाग्दा आँचल या रगतले ? खेद छैन। ओ ! हेर ! सिसा च्यातेर पस्ला भित्र : झ्याल बाहिर चिच्याइरहेछ दुन्दुभि। ढोका बाहिर गाइरहेछ आतङ्क सिम्फोनी।
 
उन्मत्त भैरव नृत्यरत छ मान्छे। डम् डम् डम् ... बजिरहेछन् डमरु मान्छे छातीहरूमा। समय थापिरहेछ एम्बुस... म त्यही बाटो हिँड्दै छु अन्जान, तिमी हिँड्दै छौ, तपार्इँ / उहाँ हिँड्दै हुनुहुन्छ। पख मान्छे ! त्यो कथित छोटो बाटो हो दन्त्यकथाहरूको, जहाँ बाघभालु हैन, मान्छे नामका घातक प्राणीहरू महाकालझैँ घुम्छन्, मान्छेलाई सिध्याउन।
 
यस्तरी हिर्कायो फूल समयले/चोटले आहत छ मन। हिँड्दाहिँड्दै यात्रामा हिँडाइ हराएको अमिलो अनुभूति छ यात्राको। आँखै अगाडि लक्ष्य हराएको छ हेर्दाहेर्दै आफैअघिबाट। पर्खी ! हिम्मत नामको जिनिस अझै बाँकी छ हाम्रो पोल्टामा।
 
धेरै हिँडियो– रगतले पोतिएका बाटाहरू, आलस्त पाइलाहरूमा, यात्राहरू गरियो थकानको अन्तिम हदसम्मै। र पनि किन एउटै र उस्तै घन्किरहन्छ वेदनाको सङ्गीत ? किन निस्कन्छ मानवता गाउँबाट, सहरबाट, मनबाट ? सायद फर्कन्न कि कहिल्यै झैँ ? गाउँका बाटाहरूमा कहिलेसम्म हिँड्छ यो मौनता ?
 
यो मौनता ??
र सहरतिर पनि उसै गरी चुपचाप चुपचाप! यो मौनता ???
 
हामी शान्ति खोज्दै आयौँ यहाँसम्म। खोज्दै छौँ ईः अझै। हिजो, अस्ति थाहा छैन कहिलेदेखि। ‘शान्ति एउटा जीवनको प्राप्ति हैन रहेछ, हुँदै हैन रहेछ। भो पुग्यो ।‘ यसो भन्दैनौँ। समय ! होसियार ! तेरो कठोर सिकन्जाबाट खोस्छौँ र बाल्छौँ उज्यालो बस्तीमा ! अब हामी चुप लाग्दैनौँ– बोल्छौँ हाहाकारको गीत। हेर्छौँ आँखा उघारेर– प्रचण्ड सूर्यमा एकटक। केही त गर्छौँ– भत्काउँछौँ बाटोमा उभिएका अवरोधका पर्खाल। हत्केलाले भत्काउँछौँ : छाती तानेर उभिएका अभावका अघोरी पहाड। छेक्छौँ बेइमानीका समुद्री धारहरू पाखुराको तेजबलले।
 
युद्धको घोषणा गर्छौँ बरु―
समय ! अब तँसँग जीवनको भिक्षा माग्दैनौँ।