Last modified on 16 मार्च 2017, at 14:49

समयको पर्वत / मनप्रसाद सुब्बा


हाम्रो पराजित प्रेमको सङ्घारबाट जब म कहिल्यै नफर्कने गरी निस्केँ अनि सडकमा उभिएँ, मैले देखेँ अघिल्तिर समयको विकराल पर्वत --- दाहिने देब्रे दुवैतर्फ आफ्नो चट्टाने पर्खाल जस्ता पाखुराहरू फैल्याएर उभिरहेको ।

कल्पनाले पनि नकल्पेको समयको परपीडक पर्वत ठिहिर्याउँदो मौनता घुम्लुङ्ग ओढेर उभिरहेको। अनि विवेक बाउँडियो। मेरो खुट्टामा गुजुल्टिएर यात्रा आफै गाँठो पर्यो।

कसरी अनि कहिले काटिसक्ने समयको त्यस्तो भिरालो पर्वत? त्यै पर्वतको बहिरो छातीमा ठोक्किँदै यो प्रश्न हजारौँ प्रतिध्वनिहरूमा फुटिरहेथ्यो।



तिम्रो निःश्वास नजिक छँदा,
बजारमा जरूरी सौदा किन्दाकिन्दै पैसा सकिए जस्तो
सकिजान्थ्यो समय
समय आउँथ्यो यौटा यौटा क्षण छमछम् घुङ्गुर बज्दै
अनि जान्थ्यो समाउन खोज्दाखोज्दै ...
क्षणहरू तिम्रा परेलीमा चाकलचुकुल खेल्थे
क्षणहरू ओँठभरि नौला नोटेशनहरू बज्थे
मौनता पूल टाँगिन्थ्यो त्यो छातीदेखि यो छातीसम्म
जहाँ क्षणहरू ओहोरदोहोर गर्थे
गुनगुनाउँदै आँखा आँखामा सपनाहरू
      #
तर अब ---
तिनै क्षणका कणहरू जमेर
उभिराखेकोछ यौटा अजङ्गको पर्वत –
अन्धो, वास्ताहीन, क्रूर ...