Last modified on 12 मई 2020, at 01:43

समयको बोली / दुर्गालाल श्रेष्ठ

दिनपछि रात पर्छ,
परे पर्छ के र –
बत्ती बले रात पनि
दिनै हुन्छ हेर ।

सुखपछि आए पनि
जस्तोसुकै दुःख,
जहाँ मन रम्छ हाम्रो
त्यहाँ सुखैसुख ।

घाम-पानी आँधी, हुरी,
असिना र धूल,
यिनैसँग खेलेरै त
फुल्ने हो नि फूल ।

यही हो है समयको
सुवासिलो बोली
हिजोभन्दा आज राम्रो,
आजभन्दा भोलि ।