Last modified on 4 जून 2017, at 15:13

समय पर्खँदाः समयको सँघारमा उभिएर / निमेष निखिल


सबैसबैसँग सम्बन्ध तोडेर
यस्तरी निदायौ तिमी समय ओढेर
जस्तो कि कुनै विस्मृत इतिहास
कहिल्यै ब्युँझने उपक्रम गरेनौ
आफ्नो ठाउँबाट टसकोमस सरेनौ।
 
उप्काइरहेछौँ हामी
तिमीलाई पुर्ने समयका पाप्राहरू
हेर ! विसङ्गतिको यत्रो डङ्गुर !
तिमीले ओढेको समयका पाप्रा उप्काउँदा
रगतका फाल्साहरू निस्कन्छन्
आँसुका खोल्साहरू बग्छन्
यस्तो लाग्छ–
तिमी निदाएको मौका छोपेर
मान्छे–
एकपछि अर्का ग्याँसच्याम्बरहरू बनाइरहेछ
भण्डारखाल र कोतपर्वहरू रिहर्सल गरिरहेछ।
 
तिमीले ओढेको समय
निर्बन्ध हावामाथि प्रतिबन्ध लगाउने समय हो सायद
हामीले बाँचिरहेको सयम पनि त्यस्तै छ
तिमीले ओढेको समय
स्वतन्त्रताको छातीमा
परतन्त्रताको झन्डा गाड्ने समय हो सायद
हामीले भोगिरहेको समय पनि यस्तै छ
खोक्रा पेटहरूलाई चारोस्वरुप
अन्नका दानाको छारो हालेर
विद्रोह बोल्ने मुखहरूमा तगारो हालिरहेछ समय
बुझेको भए पनि नबुझेको स्वाङ पारेर
क्रमशः समयको चेपुवामा परिरहेछौँ हामी।
 
खै, हामीले आफैँलाई चपाएर उग्राउने
समयका दाह्रा उखेल्न सकेको
सधैँसधैँ रोग, भोक र शोकसँगको लुखुरे युद्धमा अल्झाएर
हाम्रो सिङ्गो जिन्दगी र सभ्यतामाथि
हुकुमी शासन चलाइरहेछ सयम
फ्याँकेर हाम्रै रगतपसिनाको कमाइका टुक्रा हाम्रै अगाडि
समय हामीलाई पुरस्कृत गरेको नाटक रचिरहेछ
र पुरस्कार जित्ने होडबाजीमा हामी
स्वजनसँगै युद्ध गरिरहेछौँ युगौँदेखि।
 
छातीभरि अकाय वेदना बोकेर
समयपीडित मान्छेहरूको सङ्गठनमा लागेको छु
र पर्खिरहेछु
समयसँगै युद्धोद्घोष गर्ने समय
यति बेला म–
समयकै सँघारमा उभिएर।