समय यस्तो होस्―
बाटोभरि हाँसून् सद्भावका फूलहरू
र चलिरहोस् वासनाको बतास
मनको वायुमण्डलभरि।
समय यस्तो होस्―
सबैसबै बेइमानको अवसानमा उभिएर
गाउन पाइयोस् स्वाभिमानको एउटा गीत
इमान र मानवताका धुनहरूसँगै
र पाइयोस्― वसन्तको आँगनमा सुस्ताएर
प्रकृतिको आत्मीयता छाम्न।
समय यस्तो होस्―
जब भत्काउन सकियोस्
विवादहरू चुलिएका दम्भका घमण्डी पहाडहरू
रुष्ट हरेन्द्र यादव र रवि थाम्सुहाङ,
राजनारायाण चौधरी, अकबर अली र सबैसबै
एकैसाथ अटाऊन् एउटै अँगालामा
र हेरुन् मेचीकालीको अजस्र बहाव
सगरमाथातिर कतै उभिएर।
समय यस्तो होस्―
विधानका सुनौला किरणको उज्यालोमा हिँडोस् देश
आत्मीयताका घुमाउरा गोरेटाहरू छिचोल्दै
हिँड्दा मान्छेसँगै छुटोस् यात्रा
र टुङ्गियोस्― मान्छेकै मझेरीमा पुगेर।
दृष्टिको पल्लो छेउसम्मै फुलून् रङ्गीबिरङ्गी गुराँस
ओठहरू गाइरहून् जीवन
विडम्बनाका रङहरू पखालिरहोस्
छेवैबाट बग्ने एउटा स्वच्छ खोला
र अनुवाद गरोस् सबै रङहरूलाई एउटै रङ्गहीन रङमा
अनि मान्छे होस् मान्छे आस्थाका हरेक केन्द्रमा
समय यस्तो होस्।