भर्खर
ताते गर्न थालेको छोराले
मेरो हात समाउँदै
समयको पाठ पढाइरहेको छ ।
'यो भूइँ काहाँबात आयो ?
यो आकाच्छभित्ल के छ ?
यो बातो काहाँ जान्छ ?
आँखा चिम्म गल्दा किन देखिदैन ?'
ऊ प्रत्येक पाइला नछुटाई
पाठ पढ्न लगाउँछ ।
म सुनकेसरी रानीको कथा सुनाएर
अल्मल्याउन खोज्छु,
समातिरहेको मेरो हातको औंला
झड्कारेर भागिदिन्छ
जङ्गबहादुर भएर रोक्न खोज्छु
खुट्टा बजार्दै चिच्याएर
बाटोबीच टुसुक्क बसी
आँखा चिम्लिदिन्छ
हरतरहको सीप लगाउँदै
नारायणगोपाल बनी अँगालो हाल्छु
ज्यान फालेर लडीबडी गर्दै
धुलाम्य हुन्छ ।
ऊ जन्मेको वंशजले
भर्खरै गुमाएको परिचय
फिर्ता माग्दैछ ।
ऊ हुँर्कदै गरेको घरले
बिस्तारै सभ्यताको छानो
टल्काउन खोज्दैछ ।
ऊ हिँडेको जमिनले
हराएको इतिहास
पल्टाउने सुरसार कस्दैछ ।
म चाहन्थेँ
छोराले पुर्खाको विरासत थामोस्
तर, युगसँगै हिँडेर
भूगोलको परिक्रमा गर्न चाहन्छ
तुफान आँधीसँगै उडेर
ब्रह्माण्डको रहस्य पत्ता लगाउन खोज्छ ।
उसको रफ्तारले
मेरो निधारमा
चिट चिट पसिना टल्किन थालेको देखेर
मुसुक्क मुस्कुराउँदै सोध्छ,
'छन्चै हुनुहुन्छ छ पापा ! ?'
०००