कसी कण्ठमा प्रेमले बाहु-पाश
बसी काखमा ज्यू गरी एकनास ।
हजारौं झडी रङ्गके नित्य झाडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।१।।
भरीला नयाँ फूलका गाँथि माला
गलाबीच पैंल्ह्याउँदै जोडि गाला ।
खुशीको निरन्तर् वहायेर बाढी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।२।।
गरी नित्य लाखौं थरी हाँस-खेल
परी रङ्गरस्मा बढायेर मेल ।
भुलेको म हूँ प्यारि सर्वस्व छाडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।३।।
न ता रीस लिन्थें न ता नैन तर्थैं
न ता अन्त जाने इरादा म गर्थें ।
डटेको थियें काखमा भै वहाडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।४।।
जुलुम् भै भुली प्रेमका रङ्गरस्मा
लजाई तिमी पर्न जाँदा सकस्मा
स्वयं झट्ट पैर्हाँउँथे हाँसि साडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।५।।
जसै प्रेमले गर्दथ्यौ क्यै रिसानी
अनी हाँसदै सारिके छेउ तानी ।
नरम् भै कुरा गर्दथें मर्म ताडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।६।।
लियी खिन्न भै रङ्गले लामु सास
तिमी लेटदा चित्त पारी उदास ।
स्वयं वैद्य वन्थे समातेर नाडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।७।।
मसीना गरम्का पसीना बहाई
तिमी तर्कदा दिक्क मानी लजाई
सकल् हेर्दथें दङ्ग भै नैन गाडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।८।।
दुवैको थियो प्रेमको तन्तु एक
कुरा गर्दथ्यौं कुञ्जमा गै अनेक ।
यसैले सवैतर्फको मोह छाडी
तिमी मेरि तिम्रो म भन्थें अगाडी ।।९।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)