इह जीवनमा, कति हाँसो हाँसें
कति गीत गाएँ
कति उत्सवमा
कति नाच नाचें
मन लागेको थियो,
तथापि न रुन सकें,-
आह-आह-आह ! कति भूल गरी
यो भूल गरें
कति भूल गरी तिमीलाई भुली
भुलेर बसें !
किन्तु-
हठात् आज
अभिमन्यु जसरी जसरी पसेको थियो
चक्रव्यूहमाझ
मैले पनि त्यसरी नै
भेंटें मेरो ‘म’
नितान्त एक्लो, मरणासन्न
योद्धा-साज ।
पसेको थिएँ म
पार्थिवताको नाभिकेन्द्र
मानवदलको वृत्त नाघेर
मेरा प्रवृत्ति-समूहलाई विशिष्ट बनाउन,
मेरो ममत्व बोध
हुन्छ भन्ने ठानी
उत्तम शोध
सिंहासन-आरोहण उपरान्त
राजाको सान ;
आज जान्न पाएछु-
यसै गरौ मैले भेटी ‘म’ विपन्न भई
कन्दरमध्य, शर-विद्ध, मृगशावक झैँ
पृथिवीको पार्थिवताको
असह्य थिचाइमनि
दुरेदम दलका पदचापतल ।
आज रुन्छु-
नीरव निरश्रु-क्रन्दन अभिमान गरेर
रुनलाई जब अश्रु-नीर सब
सुकिसकेछ नयनभित्र,-
उर्ब्बर जीवन जब सुकेर छरिएर
शुष्क वालुकाग्रस्त मरुमय भएछ !
आज फर्कन चाहन्छु
जीवन-मुक्त
शिशु-सुलभ शुचि जुन
पूत थिए जे जति
त्यसैका निकट ।
तर, अभिमन्युले जसरी सिक्न पाएन
चक्रब्यूहदेखि
बाहिर निस्कन
सिक्न सकिनँ मैले पनि त्यसरी
पार्थिवताका ग्रासबाट
वहिर्गत हुन
म,- मर्न चाहन्नँ
पृथिवी-बन्धनमाझ
म बाँच्न चाहन्नँ
अरु कसैको चरण-शरण
शेष अलिकता जीवन मेरो
ब्यथित गर्न चाहन्छु म
प्रायश्चित-साधन ।
अघोर भानवताको
गहन वनमा
आफ्नै मनको
अतिगोपनमा
पाएको छु मैले खोजी-खोजीकन
अकारण अदृष्टको निरणु र छाया
यही नै हुनेछ मेरो अर्को बार
पार्थिव सत्ताको वैराग्य-काया ।