उस्तै हुन्न घाम सधैँ उस्तै हुन्न छाया
सम्झँदै छु आज पनि त्यै वेलाको माया ।
वसन्तको पौलो थुँगा फूल फुल्दै थियो
शरदको सयपत्री जून खुल्दै थियो
बैँसभरि बाँसुरीमा मुस्काउँथ्यो मन
लाग्थ्यो उस्तै रमाइलो लजाइलो पन ।
आज धेरै वर्ष बिते धेरै गए दिन
अझै मलाई कुत्कुतीले लोभ्याउँछ मन
सम्झनाको इन्द्रधनु उस्तै मीठो लाग्छ
उस्तै छाया चल्मलाउँछ उस्तै माया जाग्छ ।
आजभोलि तुषारो छ कठ्याङ्ग्रिने जाडो
शिशिरको सिरेटाले सताउँछ साह्रो
मुस्किलले दिन कट्छन् तर्सन्छु झन राती
यतिवेला एक्लै छु म छैनन् अरू साथी ।