बिहे–दान
लोग्ने–स्वास्नी
छोरा–छोरी
घर–ब्यवहार
छर–छिमेक
यस्तै त रैछ नि दुईदिने जिन्दगी
अब त बिर्सियौ पनि होला ।
काबेलीको दोभानमा
रात–बिरात
ती–तीन दिनसम्म
कहाँबाट फुलेको होला त्यो लटरम्म बैँस
कहाँबाट फुटेको होला त्यो ‘पालम’ को झरना
याद छ ?
डल्ले कार्की र जेठा खरेल
धान नाँच्दा लडेको
पछि हामी दुबैले उठाएर
सँगसँगै धान नाचेको थियौँ
मुगलानबाट फिरेन रे
बिचरा सार्की कान्छा
छेउमा टुक्रुक्क बसेर भाका जोड्दै थियो—
अलिकति डर
अलिकति सङ्कोच
अलिकति घृणा
जाँडको डबका र काबेलीले पखाल्न नसकेको
सार्की कान्छा
अस्ति भर्खरै खस्यो रे
समयले खुइलाइ दिएछ
रानीवनमा तिमीले उकालो चढ्दा थामेको हात
दाउराको भारी बिसाएर मैले पुछिदिएको पसिना
तिम्रो सुन्दर आँखा
मेरो बलिष्ठ शरीर
त्यो बाँस झ्याङ नमास्नु
कपडा साहुको दोकान नसार्नु
धान मकै कोदो
पैसा अलिकति जगेडा राख्नु
के था’ संक्राती डाँडाबाट कतिखेर घाम डुब्छ
के था’ सम्झनाका पुराना रुमालहरु कतिखेर काबेलीको दोभानमा बग्छ ।